• पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । आज (सोमबार) बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ ।

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेल-मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

    आईओसीलाई बुझाउनुपर्ने बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणका कारण निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो । ‘आइओसीको बक्यौता र सरकारी ऋणसहित अहिले पनि करिब १४ अर्ब दायित्व छ’ कार्यकारी निर्देशक थानीले भने, ‘उपभोक्तालाई केही राहत दिन अहिले मूल्य समायोजन गरेका छौं ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय