गत महिनाको सुरुमा प्यालेस्टिनी लडाकुले अडियो रेकर्डिङमार्फत इजरायललाई चेतावनी दिए। जसमा भनिएको थियो, ‘यदी हमासको माग पूरा हुँदैन भने इजरायलले ठूलो मूल्य चुकाउनुपर्छ ।’ हमास प्यालेस्टाइनको गाजापट्टीमा शासन गर्ने चरमपन्थी संगठन हो र यो आवाज मोहम्मद जाएफको थियो । उनी हमासको सैन्य विभागका प्रमुख हुन्। उनी इजरायलको मोस्ट वान्टेडको सूचीमा छन् र उनले ७ वर्षपछि मौनता तोड्दै यो अडियो चेतावनी दिएका हुन् । तर उनको चेतावनीलाई कसैले ध्यान दिएन । इजरायल र प्यालेस्टाइनबीच गाजामा ११ दिनसम्म युद्ध भयो ।
जसमा गाजामा २४२ जनाको मृत्यु भयो । इजरायलका १३ जनाको मृत्यु भयो । संयुक्त राष्ट्र संघका अनुसार गाजामा मर्नेमध्ये १२९ जना आम नागरिक थिए । हमासका नेता याह्या सिनमारका अनुसार ८० जना लडाकु यो युद्धमा मारिए । जाएफ पनि फायरिङ लाइनमा नै थिए, तर मृत्यु हुनेको सूचीमा उनको नाम छैन । जाएफा गाजापट्टीमा सैनिक अपरेशन चलाउँछन्।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता हिदाई जिबरमेनले न्युयोर्क टाइम्ससँग भने, ‘पुरै अपरेशनका क्रममा हामीले मोहम्मद जाएफलाई मार्ने कोशिस गर्यौं।’ आईडीएफका अधिकारीका अनुसार दुई पटक जाएफलाई मार्ने कोशिस गरियो । उनलाई मार्ने यो पहिलो असफल कोशिस भने होइन । पछिल्लो दुई दशकमा ७ पटक उनलाई मार्ने असफल प्रयास भइसकेको छ ।
मुसो–बिरालोको खेलजस्तो बनेको यो खेलमा इजरायललाई जाएफले हैरान बनाइदिएका छन्।
मध्यपूर्वका सुरक्षा विशेषज्ञ म्याथ्यु लिविट भन्छन्, ‘हमासको सैन्य क्षमताका लागि अत्यन्तै जरुरी रहेका व्यक्तिहरुको सूची तयार पारिएको छ । जुन सूचीमा सबैभन्दा माथि जाएफको नाम छ ।’
गाजापट्टीका पाहुना
जाएफबारेमा धेरैजसो जानकारी इजरायली र प्यालेस्टिनी मिडिया रिपोर्टबाट प्राप्त हुन्छ । उनीहरुका अनुसार जाएफको जन्म १९६५ मा गाजाको खान युनुस शरणार्थी शिविरमा भएको हो । त्यसबेला यो स्थान इजिप्टको कब्जामा थियो ।
उनको नाम मोहम्मद दियाब इब्राहिम अल–मरसी राखिएको थियो । तर उनको घुमन्ते जीवनशैली र इजरायली हवाई हमलाबाट बच्नका लागि लगातार भाग्नुपर्ने भएका कारण उनलाई जाएफ भन्न थालिएको हो । अरबीमा यो शब्दको अर्थ ‘पाहुना’ हुन्छ । उनको बाल्यवस्थादेखिका अन्य धेरै कम जानकारी उपलब्ध छन्। हमासको गठन हुँदा उनी सायद युवा थिए होला । सन् १९८० मा उनी हमासमा जोडिएका थिए । इजरायलविरुद्ध सशस्त्र विद्रोहका लागि तयार जाएफ छिट्टै नै हमासको सैन्य इकाईको इजेदिन अल–कसम बिग्रेडमा चर्चित बने ।
गाजामा शासन गर्ने प्यालेस्टिनी चरमपन्थी संगठन
अमेरिकी विदेशमन्त्रालयका पूर्व आतंकवाद–विरोधी सल्लाहकार लेविट भन्छन्, ‘उनलाई खासगरी हमासका कट्टर अधिकारी मानिन्छ । उनी हमास कमाण्डर याह्उा अय्यासका निकट भएको मानिन्छ । बम बनाउन सिपालु याह्या अय्यास इन्जिनियर भएको विश्वास गरिन्छ । ९० को दशकको सुरुमा इजरायलमा भएको बस हमलामा अय्यासको हात रहेको बताइन्छ । १९९६ मा इजरायलले उनको हत्या गरेपछि हमला पनि बढेका थिए । अय्यासको हत्याको बदला लिन जाएफले नै यो योजना बनाएको विश्वास गरिन्छ । यसका साथै इजरायलमाथि भएका अन्य धेरै हमलामा उनको भूमिका रहेको ठानिन्छ ।
यसपछि जाएफको कद र ओहदा झनै बढ्यो । २०२० मा हमासको सैन्य इकाईका संस्थापक सलाह सहेदेहको हत्यापछि उनले नै नेतृत्व सम्हालेका छन् । हमासले रकेट र गाजामा बंकर बनाउने कार्यको श्रेय जाएफलाई दिइन्छ । इजरायलको हमलाबाट बच्न र हमासलाई गोप्य रुपमा चलाउन उनले धेरैजसो समय सुरुङमा नै बिताउने गर्छन्।
नौ जीवन भएको बिरालो
जाएफाको राडारमा बस्नु जीवन र मृत्युसँग जोडिएको छ । २००० को दशकमा इजरालयलले ४ पटक उनको हत्याको प्रयास गरेको थियो । केही हमलामा उनी सामान्य र केहीमा गम्भीर घाइते भएपनि बाँच्न सफल भए । उनको एक आँखा र शरीरका अंगमा क्षति पुगेको छ । आईडीएफका एक पूर्वप्रमुखले २००६ मा हमासका एक सदस्यको घरमा गरेको हमलामा उनी गम्भीर घाइते भएको पुष्टि गरेका थिए ।
उनी भन्छन्, ‘आम मानिसलाई उनले अब कहिल्यै पनि एक नेता र सेनाको रणनीतिकारका रुपमा काम गर्दैनन् भन्ने ठानेका थिए । एउटा आँखा गुमेपनि उनी ठीक भए ।’ हत्याको असफल कोशिसबाट बचेपछि जाएफाको ख्याती बढ्यो र उनका दुश्मनले उनलाई ‘द क्याट विथ नाईन लाइभ्स’ भन्न थाले। २०१४ मा उनको हत्याको पाँचौ कोशिस भयो ।
इजरायलले उनका छिमेकी शेख रादवानको घरमा हमला गरेको थियो । यसमा जाएफकी पत्नी र सानो बच्चाको मृत्यु भयो । हमलाको केही समयमा नै हमासले जाएफ जिउँदो रहेको र सैन्य अपरेशनको नेतृत्व गरिरहेको जानकारी दियो । सुरक्षा विशेषज्ञका अनुसार इजरायली सेनाबाट बच्नुको एक ठूलो कारण भनेको कुनै पनि आधुनिक सञ्चार उपकरणको प्रयोग नगर्नु हो ।
लेविट भन्छन्, ‘यदि तपाईं फोन वा कम्प्युटरको प्रयोग गर्नुहुन्न भने आधुनिक गुप्तचर सेवालाई जानकारी जुटाउन कठिन हुन्छ ।’ उनका अनुसार सुरुङको गहिराई, पुरानो गुप्तचर संयन्त्र, जनधनको नोक्सानको खतरा र हतियारले काम नगर्नु केही कारण हुन् ।
अलग र जरुरी भूमिका
लडाई अन्त्य हुनुभन्दा एक दिनअघि हमासका एक वरिष्ठ अधिकारीले एपीसँग जाएफजे गाजामा सैन्य कारबाहीको नेतृत्व गरिरहेको बताएका थिए । युद्धविरामपछि पनि उनको हातमा नै कमाण्ड रहेको विश्वास गरिएको छ । आईपीएफका एक अधिकारीले जाएफबारे जानकारी जुटाउने कोशिस भइरहेको तर गुप्तचर जानकारी भएका कारण थप बनाउन अस्वीकार गरेका छन् । इजरायल उनी पुरानो नेता र कमाण्डर भएका कारण पनि उनलाई मार्न चाहन्छ । किनकि उनको इजरायल–प्यालेस्टाइनबारे धेरै जानकारी छ र उनले अन्यायमा परेको प्यालेस्टिनीलाई संघर्षमा एकत्रित गर्न सक्छन् ।
लेविट भन्छन्, ‘वरिष्ठ लडाकुको संख्या निकै कम छ, जो सुरुदेखि नै जोडिएका छन् । यस मामिलामा उनी अलग छन्।’ जाएफको अर्को महत्वपूर्ण कुरा भनेको उनी रहस्यमयी व्यक्ति हुन्, जो कुख्यात पनि र गुमनाम पनि छन् । गाजाका सडकमा कुनै पनि व्यक्तिले जाएफलाई चिन्न सके पनि बताउँदैनन् । लेविट भन्छन्, ‘प्यालेस्टिनी हमासका धेरै नेताबाट प्रभावित भएको देखिदैन । तर युद्धविराम पछि पनि जाएफको नाम लिन छाडेका छैनन् । गाजामा ठूलो क्षतिका बाबजुद केही मानिस खुसी मनाइरहेका थिए भने केही ‘हामी तपाईसँग छौं, जाएफ’ भन्दै गाएका भेटिन्थे ।’
–बीबीसीमा जोशुवा नेवेटको रिपोर्टको नेपाली अनुवाद
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।