काठमाडाैं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ लिएपछि पदभार ग्रहण गर्दै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताए।
उनले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताए।
सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। त्यसपछि उपाध्यक्ष पौडेलले आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराए।
गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल तथा सदस्यमा फुयाँल र गुरुङलाई नियुक्त गरेको थियो। सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरूङले पनि आजै पदभार ग्रहण गरे।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।