• कोरोना कहर : संक्रमण र मृत्यु संख्यामा नयाँ रेकर्ड

  • काठमाडौं। कोरोना भाइरसको संक्रमण र मृत्युमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जना कोरोना संक्रमित भएका छन् भने ३७ जनाको मृत्यु भएको छ । यो नेपालमा कोरोना संक्रमित र मृत्युसंख्या दुवैमा नयाँ रेकर्ड हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार २१ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा छन् ।

    उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा १ हजार १८१ जना अस्पतालमा उपचाररत रहेकोमा १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय