एजेन्सी। युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग लिन अनुमति दिएको आरोप लगाएको छ।
रुसले २०१४ मा क्राइमियालाई युक्रेनबाट कब्जा गरेको थियो । कीभ र सहयोगी देशहरूले दुई पूर्वी क्षेत्रहरूमा मस्को समर्थक पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन्।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक पत्रकार सम्मेलनमा मस्कोले पूर्वी क्षेत्रहरू र क्राइमियामा मतदान आयोजना गरी “अन्तर्राष्ट्रिय कानूनको उल्लंघन” गरेको आरोप लगाए।
कुलेबाले अहिले क्राइमियाको अवस्था एक नियन्त्रित राज्यको जस्तो भएको र यस बापत मस्कोले एक दिन ठूलो मूल्य चुकाउनुपर्ने दाबी गरे।
लुगान्स्क र डोनेट्स्क क्षेत्रका ६ लाख भन्दा बढी जनताले २०१९ देखि हालसम्म रूसको राहदानी लिइसकेका छन् र यस क्षेत्रमा मतदानका निम्ति योग्य मानिएका छन् । रुसले २०१६ देखि क्राइमियामा निर्वाचन गराउँदै आएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।