काठमाडौं । नेपाल एएफसी मिहला एसियन कप २०२२ को छनोटको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको छ ।
शनिबार भएको समूह एफको पहिलो खेलमा नेपाल २–१ ले पराजित भएको हो ।
खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजय भोग्यो। नेपालले ९० औं मिनेट र इन्जुरी समयको दोस्रो मिनेटमा गोल खान पुगेको थियो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यो अग्रता ८९औं मिनेटसम्म कायम थियो।
तर अन्तिममा फिलिपिन्सले २ गोल गर्दै जित निकाल्यो । फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काइन् भने इन्जुरी समयको दोस्रो मिनेटमा कमिल्ला विल्सनले गोल गरेपछि फिलिपिन्स विजयी भयो।
नेपालले अब समूह एफको अर्को खेल हङकङसँग असोज ५ गते खेल्नेछ । समूह विजेता बन्दै एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ ।
समूहको विजेताले अर्को वर्ष भारतमा हुने एसिया कपमा स्थान बनाउनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।