काठमाडौं। नेपाल प्रहरीका भुपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा पहिलो भएका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए ।
५७ केजीको फाइनलमा एपीएफका पूरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । ७१ केजीमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।
पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजीको फाइनल प्रतिस्पर्धा हुने छ । सेमिफाइनलमा १३ औं सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दावाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।