

काठमाडौं । आईसीसी विश्व लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले ओमानमाथि ७ विकेटको जित हात पारेको छ । नेपालले वानडे क्रिकेटमा ओमानलाई हराएको यो पहिलो पटक हो ।
ब्याटिङ–बलिङ दुवैमा राम्रो प्रदर्शन गरेको नेपालका सामू ओमान फिक्का साबित भयो । ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५२ रन बनाए । उनले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै आशिफ शेखले ४४ बलमा ७ चौकाको मद्दतमा ४० रन बनाउँदा रोहित पौडेल र कुशल भुर्तेलले समान ६–६ रन बनाए ।
ओमानका लागि नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा १२१ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सन्दीप र करणले ४÷४ तथा शरद भेषवाकरले २ विकेट लिए ।
शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटको हार भोगेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
