• इपिएलमा पोखराको पहिलो जित

  • पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत दर्ता गराएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेटायो । पोखराको जीतमा रिचार्ड लेभीले अविजित रहदै ३८ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

    त्यस्तै रित गौतमले १२ तथा साहन अराचिगे १ रनमा अविजित रहे । बलिङतर्फ ललितपुरका अज्मातुल्लाह ओमार्जाइले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल बनाएको थियो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाउदा ओशाडा फर्नान्डोले अविजित १० रन जोडे ।

    नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए । पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा शून्य रनमा आउट हुँदा राशिद खान शून्य रनमा अविजित रहे ।

    ललितपुरलाई सस्तैमा समेट्नक्रमा पोखराका नन्दन यादवले ३ विकेट लिए भने विक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट झारे । वर्षाको कारण आउटफिल्ड भिजेकाले खेल करिब दुई घण्टापछि सुरुवात भएको थियो । जसमा निर्धारित २० ओभरको खेललाई सात ओभरमा घटाइएको थियो । यस जीतसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अङ्क जोडेको छ ।

    पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अङ्क पाएको थियो । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौँ किङ्स–११ सँग पराजित भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय