रूपन्देहीस्थित निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचना जारी गरे सो क्षेत्रमा कर्फ्यु लागू गरिएको जानकारी दिए ।
आइतबार दिउँसो बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।प्रहरीले अस्थायीरूपमा बनाइएका टहरासमेत भत्काएको छ । झडपमा ६ जना घाइते भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले कयौँ राउण्ड अश्रुग्यास र हवाइफायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउण्ड गोली चलाइएको जानकारी दिए । गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको उनले बताए ।
झडपमा परी दुई घाइते भएका छन् भने दुईलाई प्रहरीले पक्राउ गरेको छ । झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् ।
सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।