

पाल्पा रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।
बुधबार बिहान भएको दुर्घटनामा गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११,बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । तीनै जनाको घटनास्थलमै माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएको हो ।
गुल्मीको तम्घासबाट पाल्पा भई बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को जिप सडक स्तरोन्नति गरेको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिएको प्रहरीले जनाएको छ । घाइते ८ जनामध्ये चालक बालकृष्ण श्रेष्ठ सकुशल रहेका छन् ।
बाँकी सात जनाको तानसेन पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
