

दशै तिहार जस्ता पर्वहरु नजिकिए संङगै ग्रामीण स्तरका सडकहरु मर्मत गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्देशन दिएको छ ।
वर्षातको पानीले ग्रामीण स्तरका सडकहरु बिग्रिएकाले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु तत्काल मर्मत गर्नका लागि सडक योजनाका कार्यालयहरु र स्थानीय तहलाई निर्देशन दिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले जानकारी दिनुभयो ।
महत्वपूर्ण पर्वहरुमा बिदेश तथा देशका शहरहरुबाट गाउँमा आउने यात्रुहरुको सहजता र दुर्घटना न्यूनीकरण गर्नका लागि पनि सडक मर्मत गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
यस्तै चाडपर्वको मौका छोपी सिट क्षमता भन्दा बढी यात्रु राख्ने र बढी भाडा असुल्ने सवारी साधन र सवारी धनीलाई कारवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ,
चाडपर्वलाई लक्षित गर्दै सुरक्षा ब्यबस्था पनि चुस्त दुरुस्त बनाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले ग्रामीण स्तरका सडकहरु मर्मत गर्न सुरु गरिएको बताउनुभयो । वर्षातको समयले ग्रामीण स्तरका सडकहरु बिग्रिएको र चावपर्व पनि नजिकिएकाले सबै वडाका ग्रामीण सडकहरु मर्मतको कार्य तिब्र गतिमा भइरहेको उहाँको भनाई छ ।
यस्तै चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गर्ने तयारी गरिरहेको गिरीले बताउनुभयो ।
जिल्लाका अन्य स्थानीय तहहरुले पनि सडक मर्मतको कार्यलाई अगाडि बढाएको बताउँदै आएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
