• गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको पक्षमा पुग्यो संख्या , को हुन् उनी

  • पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली हुने भएका छन् । उनको पक्षमा ३१ मत देखिएको छ । प्रदेश प्रमुख विपक्षी गठबन्धनले संविधानको धारा १६८ (५) अनुसार शुक्रबार सरकारमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेपछि उनी हुने निश्चतित भएको छ ।

    यसअघि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घन्टा समय दिएर शुक्रबार संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी छन् । ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत मागेका थिए । तर, ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उनलाई साथ दिएनन् ।

    को हुन् नेपाली

    ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय पात्र हुन् । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका हुन् ।

    २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

    २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय