

ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ ।
जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो ।
जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए । जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने बताए ।
उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताए । उनका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति रु एक सय जरिवाना हुने जानकारी दिए । बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेमा सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
